


भैरहवा,२ असोज। रुपन्देहीको भैरहवामा नसा तथा मनोरोगका विरामीहरुको उपचारलाई लक्षित गर्दै ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा ल्याइएको छ ।
‘कुरा गरौं’ भन्ने नाराका साथ कालिका पथ क्षेत्रमा संचालनमा आएको क्लिनिकले शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो। शुक्रबार आयोजित एक कार्यक्रमबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान क्लिनिकको उद्घाटन गरे।

भैरहवा तथा आसपासका क्षेत्रका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा नसा तथा मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक सञ्चालक रोशन गुप्ताले जानकारी दिए। उनका अनुसार क्लिनिकमा न्युरो–साइक्याट्रिक (नसा तथा मानसिक) उपचारलाई मुख्य प्राथमिकतामा राखिएको छ।
क्लिनिकमा काउन्सिलिङ, ल्याब तथा फर्मेसीलगायतका विभिन्न सेवा उपलब्ध रहेको बताइएको छ। क्लिनिक सञ्चालनको अवसरमा हाल ओपीडी सेवा निःशुल्क गरिएको छ भने ल्याब परीक्षणमा समेत विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ।
क्लिनिकका बरिष्ठ टाउको, नसा तथा मानसिक रोग विशेषज्ञ डा. नसिम अकरमका अनुसार, बाल्यकालदेखि हुर्किने वातावरण, परिवार तथा साथीभाइसँग आफ्ना समस्या खुलेर व्यक्त गर्न नसक्ने अवस्थालगायतका कारण एन्जाइटी, डिप्रेसन, माइग्रेन तथा गम्भीर मानसिक समस्या (साइकोसिस) देखा पर्ने गरेको छ ।
त्यसैगरी मेरुदण्डबाट जाने नसा च्यापिँदा हातखुट्टा झमझमाउने, शरीरमा स्फूर्ति नहुनेलगायतका समस्या पनि सर्वसाधारणमा देखिने गरेको डा. अकरमले बताए।
भैरहवा तथा आसपासका बासिन्दाले यस्ता स्वास्थ्य समस्याको उपचारका लागि काठमाडौं तथा भारतका विभिन्न सहरसम्म जानुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको उनले बताए।
क्लिनिकमा मानसिक तथा नसा रोग, निद्रासम्बन्धी समस्या, अत्तालिने समस्या तथा यौन स्वास्थ्यसम्बन्धी समस्याका लागि परामर्श र विशेषज्ञ उपचार सेवा उपलब्ध गराइने जनाइएको छ।

