


काठमाडौं,६ असोज। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएको छ।
आयोगले नामावलीमा रहेका त्रुटि सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्न असोज १२ गतेसम्मको समय दिएको छ।

गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताको विवरण प्रारम्भिक नामावलीमा समावेश गरिएको छ। नाम, थर वा जन्ममितिमा त्रुटि भए आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिएर सच्याउन सकिने व्यवस्था गरिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
त्यस्तै, मतदाता हुन अयोग्य व्यक्ति, नागरिकता त्याग गरिसकेका व्यक्ति वा अन्य कारणले नाम हटाउनुपर्ने अवस्था भए उजुरी तथा निवेदन दिन सकिने आयोगले जनाएको छ। राष्ट्रिय परिचयपत्रमा आबद्ध मतदाताले अनलाइन प्रणालीमार्फत विवरण अद्यावधिक गर्न सक्नेछन् भने आबद्ध नभएकाले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भई विवरण उपलब्ध गराउनुपर्नेछ।
आयोगका अनुसार, तोकिएको अवधिमा प्राप्त सच्याउने निवेदन तथा दाबी–विरोधमाथि छानबिन गरी अन्तिम मतदाता नामावली तयार गरिनेछ।

