


नवलपरासी,८ असोज । पश्चिम नवलपरासीका व्यावसायिक केराखेतीमा ‘ब्ल्याक सिगाटोका’ रोगको समस्या बढेपछि किसान चिन्तित बनेका छन्। जिल्लाको सुस्ता र प्रतापपुर क्षेत्रमा व्यावसायिक रुपमा लगाइएको केराखेतीमा पछिल्लो समय यो रोग व्यापक रुपमा देखिएको हो।
केही समयअघिसम्म राम्रो मूल्य पाएपछि केराखेती विस्तारमा उत्साहित भएका किसान अहिले रोगका कारण उत्पादन र बजार दुवैतर्फको समस्यामा परेका छन्। किसानका अनुसार, करिब दुई महिनाअघिसम्म एक दर्जन केराको मूल्य ८० रुपैयाँसम्म पाउने गरेका थिए। अहिले रोग नलागेको राम्रो केराको मूल्यसमेत घटेर करिब ४० रुपैयाँ प्रतिदर्जनमा सीमित भएको छ।

केरा किसान तथा केरा जोन सञ्चालक समिति संयोजक युवराज मौर्याका अनुसार, अधिकांश केराका बगैँचामा ब्ल्याक सिगाटोका देखिएको छ। केही बगैँचामा रोग व्यापक रुपमा फैलिएको छ भने केहीमा आंशिक रुपमा मात्रै समस्या देखिएको छ।
ब्ल्याक सिगाटोका लागेपछि सुरुमा केराको पातमा साना खैरा वा कालो धर्सा तथा धब्बा देखिन्छन्। रोग बढ्दै जाँदा ती धब्बा फैलिँदै गएर पात पहेँलिने र सुक्ने गर्छ। पातको संख्या घट्दै जाँदा केराको वृद्धि र फलको विकासमा समेत असर पुग्ने कृषि प्राविधिकहरु बताउँछन्। बोटका पात माथिल्लो भागबाट सुक्दै तलतिर फैलिँदा बोट कमजोर हुने समस्या देखिन्छ।
प्रतापपुर गाउँपालिकाका केरा किसान नारायण कोइरीका अनुसार रोगका कारण समयअगावै पाकेका केरालाई व्यापारीले खरिद गर्न छाडेका छन्। त्यसपछि किसानले आफैँ नजिकका बजारमा लगेर कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएको छ। अहिले रोग लागेको केरा कतिपय किसानले प्रतिदर्जन २० देखि २५ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। कृषि प्राविधिकका अनुसार ब्ल्याक सिगाटोका लागेको केरा खान भने मिल्छ।
रोग देखिएपछि केही किसानले भारतबाट विषादी ल्याएर प्रयोगसमेत गरेका थिए। तर, त्यसबाट अपेक्षित रूपमा रोग नियन्त्रण नभएपछि उनीहरूले कृषि प्राविधिकलाई जानकारी गराएका हुन्। किसानले जानकारी गराउँदासम्म केरामा रोग देखिएको करिब डेढ महिना भइसकेको थियो। त्यस अवधिमा रोग धेरै क्षेत्रमा फैलिसकेको बताइएको छ।
समस्या बढ्दै गएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीले केराखेती क्षेत्रमा बाली उपचार शिविर सञ्चालन गरेको छ। शिविरमार्फत किसानलाई रोगको पहिचान, रोग फैलिने कारण, बगैँचा व्यवस्थापन तथा नियन्त्रणका उपायबारे जानकारी दिइएको छ। आवश्यक विषादीसमेत वितरण गरिएको छ भने विषादीको मात्रा, प्रयोग गर्ने विधि र सावधानीबारे किसानलाई जानकारी गराइएको कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख सालीकराम पौडेलले बताए।
रोगको वास्तविक अवस्था पहिचान गर्न बाली रोग विशेषज्ञसहितको प्राविधिक टोलीले केराका बोट तथा पातको नमुना संकलन गरेको छ। नमुना परीक्षण र रोगको अवस्थाका आधारमा आवश्यक उपचार तथा व्यवस्थापन विधिबारे किसानलाई जानकारी गराइएको छ।
बाली रोग विशेषज्ञ तथा वरिष्ठ कृषि वैज्ञानिक लक्ष्मण अर्यालका अनुसार ब्ल्याक सिगाटोका नियन्त्रणका लागि रोग लागेका पात हटाउने र बगैँचाको उचित सरसफाइ गर्ने काम महत्वपूर्ण हुन्छ। बगैँचामा हावाको आवतजावत र चिस्यान व्यवस्थापनमा समेत ध्यान दिन आवश्यक छ। विषादी प्रयोग गर्दा प्राविधिकको सिफारिसअनुसार मात्रै उपचार गर्नुपर्ने उनको भनाइ छ। रोग लागेका पात हटाउँदा रोग फैलाउने स्रोत कम हुनुका साथै समयअगावै फल पाक्ने समस्या घटाउनसमेत सहयोग पुग्ने उनले बताए।
कृषि प्राविधिकहरुका अनुसार किसानले आफैँ अनुमान गरेर विषादी प्रयोग गर्दा समस्या समाधान हुनुको सट्टा केराखेतीमा रोग हरेक वर्ष बढ्ने जोखिम रहन्छ। त्यसैले रोगको सही पहिचान गरी प्राविधिकको सल्लाहअनुसार मात्रै विषादी प्रयोग गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुस्ता र प्रतापपुर क्षेत्रमा सञ्चालनमा रहेको केरा जोन पछिल्लो पाँच वर्षमा ९४० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ। केराखेतीको क्षेत्रफल निरन्तर बढिरहेका बेला ब्ल्याक सिगाटोकाजस्तो रोगको प्रकोप देखिएपछि यसको समयमै नियन्त्रण, नियमित प्राविधिक सेवा र प्रभावकारी बगैँचा व्यवस्थापन आवश्यक देखिएको छ। ठूलो क्षेत्रफलमा फैलिएको केराखेतीलाई रोगबाट जोगाउन किसान, प्राविधिक, स्थानीय तह र सम्बन्धित निकायबीचको समन्वयसमेत महत्वपूर्ण हुने देखिएको छ।

