


दाङ,८ असोज। दाङ प्रशासनले जिल्लाका पाँच सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म दाङसहित देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार, असोज ८ गतेदेखि हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सम्बन्धित सडकखण्डमा सवारी आवागमन बन्द हुनेछ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको सडकमा रातिको समयमा आवागमन रोक्ने निर्णय गरिएको हो।
वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले तोकिएको समयअघि नै यात्रा व्यवस्थापन गर्न र सडक बन्दसम्बन्धी सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेद्वारा जारी सूचनामा सडकको अवस्था र मौसममा आएको परिवर्तनअनुसार थप निर्णय तथा सूचना जारी हुनसक्ने उल्लेख गरिएको छ।
हेर्नुहोस् सूचना :


