


चितवन,८ असोज। जिल्ला प्रशासन कार्यालय चितवनले भारी वर्षाका कारण विपद् जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रुपमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रुपमा रोक लगाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामार्फत प्रशासनले यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरेको छ। साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।

