


काठमाडौं,८ असोज । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तारेखमा छोड्न परमादेश जारी गरेको छ।
दाहालकी छोरी डेनिका दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

बयान सम्पन्न भइसकेको तथा हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नदेखिएको ठहर गर्दै सर्वोच्चले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, भोटाहिटीका नाममा दाहाललाई आजकै मितिबाट तारेखमा छोड्न परमादेश जारी गरेको हो।
यसअघि मंगलबार सर्वोच्चले पक्राउ गर्नुको कारणसहित दाहाललाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेशअनुसार उनलाई बिहीबार बिहान अदालतमा उपस्थित गराइएको थियो।
उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा प्रहरीले दाहाललाई मोरङको सुन्दरहरैँचाबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि उनकी छोरी डेनिकाले गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखिएको भन्दै रिहाइको मागसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

