


भैरहवा, १२ असोज । नेपाली कांग्रेस रुपन्देहीका युवा नेता विशाल कुमार चौधरीले पार्टीको साधारण सदस्यतासहित आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको राजीनामा पत्रमा पछिल्लो समय उत्पन्न व्यक्तिगत तथा राजनीतिक परिस्थितिका कारण नेपाली कांग्रेसमा रहेर आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन उपयुक्त नहुने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

उनले सोही कारण पार्टीको साधारण सदस्यतासहित आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट स्वेच्छाले राजीनामा दिएको जनाएका छन्।
राजीनामा पत्रमा उनले नेपाली कांग्रेसमा रहँदा पार्टीले विभिन्न समयमा दिएको जिम्मेवारीलाई आफ्नो क्षमता, इमानदारी र निष्ठाका साथ निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। पार्टी संगठन निर्माण, सामाजिक सेवा तथा जनताको पक्षमा निरन्तर योगदान गर्ने प्रयास गरेको पनि उनले बताएका छन्।
पार्टीमा रहँदा आफूलाई विभिन्न जिम्मेवारी प्रदान गर्ने अग्रज नेता, साथी, कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उनले आफ्नो आगामी सामाजिक तथा राजनीतिक यात्रालाई अर्को राजीतिक दल मार्फत निरन्तरता दिने संकेत भने गरेका छन्।
मायादेवी गाउँपालिका–८, बसडिलवाका चौधरीले यसअघि क्षेत्रीय प्रतिनिधि, नेपाल तरुण दलका जिल्ला सदस्य, नेपाल थारु संघ मायादेवी गाउँपालिकाका अध्यक्ष तथा लुम्बिनी प्रदेशको पूर्व प्रदेश अधिवेशन प्रतिनिधि लगायतका जिम्मेवारी सम्हालिसकेका छन्।
व्यक्तिगत तथा राजनीतिक परिस्थितिलाई कारण देखाउँदै चौधरीले कांग्रेसबाट बाहिरिने निर्णय गरेपछि मायादेवी गाउँपालिकाको राजनीतिक वृत्तमा उनको आगामी राजनीतिक कदमबारे चासो बढेको छ।
हेर्नुहोस् राजीनामा पत्र :


