


भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका–३ लक्ष्मीपुरमा करिब ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको आरसीसी सडक तीन महिना नपुग्दै बिग्रिएको छ। गाउँपालिकाको बजेटमा प्रिमियम कन्स्ट्रक्सन, काठमाडौंले निर्माण गरेको सडकको सतह उप्किएपछि स्थानीयले निर्माणको गुणस्तरमाथि प्रश्न उठाएका छन्।
दुई खण्डमा निर्माण गरिएको उक्त सडक गत वैशाखको दोस्रो सातातिर निर्माण भएको हो। सडकको एउटा खण्ड ७५ मिटर र अर्को ९० मिटर लामो छ। ९० मिटरको खण्ड सामान्य अवस्थामा रहे पनि ७५ मिटरको खण्ड भने ठाउँ–ठाउँमा बिग्रिएको स्थानीयले बताएका छन्।

बिग्रिएको सडकको माथिल्लो सिमेन्टको सतह उप्किएको छ। सतह उप्किएपछि त्यसमुनिको गिट्टी र मिस्कट देखिएको छ। कतिपय स्थानमा सामान्य रुपमा कोट्याउँदासमेत गिट्टी निस्किने अवस्था रहेको स्थानीयको भनाइ छ।
सडक बिग्रिएको जानकारी करिब दुई महिनाअघि नै सम्बन्धित निकायलाई गराए पनि समयमै पहल नभएको स्थानीयको आरोप छ। स्थानीय सोमनाथ यादवका अनुसार सडक निर्माणकै क्रममा गुणस्तरबारे प्रश्न उठाइएको थियो। त्यसबारे गाउँपालिकालाई समेत जानकारी गराइएको उनले बताए।
अर्का स्थानीय रामभरत कुर्मीले सडकको केही भागमा गिट्टी राम्रोसँग नजमेको बताए। उनका अनुसार सडक निर्माण भएको छोटो समयमै समस्या देखिन थालेको थियो। निर्माणका क्रममा स्थानीयले सडकको आधार संरचना, कंक्रिटको गुणस्तर र स्लाबको मोटाइबारे प्रश्न उठाएका थिए।
त्यसबेला गाउँपालिकाले गुणस्तर परीक्षणपछि मात्र निर्माण कम्पनीलाई अन्तिम भुक्तानी गर्ने बताएको स्थानीयको भनाइ छ। तर, आवश्यक गुणस्तर परीक्षण नभएको स्थानीयले आरोप लगाएका छन्।
स्थानीय सुभास कुर्मीले सडक निर्माणको प्राविधिक परीक्षण गर्नुपर्ने बताए। सडक यति छोटो समयमा बिग्रनुको वास्तविक कारण पत्ता लगाउन आवश्यक रहेको उनको भनाइ छ।

सडक बिग्रिएको करिब दुई महिनापछि गाउँपालिकाले निर्माण कम्पनीलाई मर्मतका लागि पत्र पठाएको छ। निर्माण कम्पनीको मर्मतसम्भारसम्बन्धी जिम्मेवारी अवधि अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ।
सियारी गाउँपालिकाका इन्जिनियर दिलिप भट्टराईले सडक मर्मतको काम निर्माण कम्पनीले नै गर्ने बताए। उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी सडक मर्मत गर्न निर्माण कम्पनीलाई भनिएको छ।
तर, स्थानीयले मर्मत गरेर मात्र समस्या समाधान नहुने बताएका छन्। सडक निर्माण भएको छोटो समयमै बिग्रनुको कारण पत्ता लगाउन प्राविधिक परीक्षण आवश्यक रहेको उनीहरुको माग छ।
स्थानीयका अनुसार कंक्रिटमा प्रयोग भएको सिमेन्ट, बालुवा र गिट्टीको अनुपात परीक्षण गर्नुपर्छ। त्यस्तै, स्लाबको मोटाइ तोकिएको मापदण्डअनुसार भए–नभएको पनि जाँच गर्नुपर्ने उनीहरूको माग छ।
सडकको सब–बेस र बेसमा आवश्यक कम्प्याक्सन गरिएको थियो कि थिएन तथा कंक्रिट राखेपछि आवश्यक क्युरिङ गरिएको थियो कि थिएन भन्ने विषयसमेत परीक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ।
गाउँपालिकाका अनुसार, उक्त सडक एम–१५ ग्रेडको आरसीसी कंक्रिट प्रयोग गरी निर्माण गरिएको हो। इन्जिनियर भट्टराईले कंक्रिटको गुणस्तर र मजबुती परीक्षण गरेर मात्र काम अघि बढाइएको दाबी गरेका छन्।
यद्यपि, स्थानीयले निर्माणका क्रममा गरिएको गुणस्तर परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। मर्मत गरेपछि पनि सडकमा पुनः उस्तै समस्या नदोहोरियोस् भन्ने उनीहरुको मुख्य चासो छ।

