


काठमाडौं,१२ असोज। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका समयमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ।
सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेसम्म हाल कायम भाडादरमै यात्रुलाई सेवा दिने बताए।

उनले चाडपर्वमा अग्रिम टिकट बुकिङसँगै यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनु मुख्य चुनौती रहेको बताए। सडकको अवस्था र ठाउँ–ठाउँमा हुने अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँगको समन्वयमा सेवा निरन्तरता दिने उनको भनाइ छ।
सिटौलाले तोकिएका बसपार्क तथा काउन्टरबाट मात्र टिकट बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने, यात्रुवाहक सवारीलाई चाडपर्वमा प्राथमिकता दिनुपर्ने तथा सडकका खाल्डाखुल्टी पुर्न सरकारसँग आग्रह गरे।
साथै, सवारी साधनको प्रकार (नर्मल, डिलक्स, सुपर डिलक्स) अनुसार सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न व्यवसायी प्रतिबद्ध रहेको उनले बताए ।
उनका अनुसार लामो दूरीका सवारीमा दुईजना चालक राख्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनेछ। साथै अग्रिम बुकिङ गरिएका सवारीलाई अन्य प्रयोजनमा प्रयोग नगर्न व्यवसायीलाई निर्देशन दिइएको छ।

