


काठमाडौं,१२ असोज। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाढीपहिरोका कारण राष्ट्रिय विद्युत प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको बताएका छन्।
सोमबार सिंहदरबारस्थित संसद्मा बोल्दै मन्त्री श्रेष्ठले बाढीपहिरोबाट विद्युत् उत्पादनसँगै प्रसारण,वितरण तथा उत्पादन संरचनामा समेत क्षति पुगेको जानकारी दिए। प्राकृतिक विपद्का कारण विद्युत् प्रणालीमा ठूलो असर परेको उनको भनाइ छ।

उनका अनुसारm कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा १३ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ३७० मेगावाट विद्युत् प्रभावित भएको छ। उनले विद्युत उत्पादनसंगै प्रसारण पूर्वाधार नहुँदा विद्युत प्रवाह गर्न समस्या देखिएको उल्लेख गरे।
मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर प्रसारण लाइन चार्ज भएपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न सहज हुने बताए।
विद्युत् प्रणालीलाई सन्तुलित राख्न आन्तरिक उत्पादनलाई प्राथमिकता दिइएको र अपुग विद्युत् भारतबाट आयात गरेर आपूर्ति व्यवस्थापन भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।

