


बुटवल,१३ असोज। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को वरिष्ठ नेताको जिम्मेवारी सम्हालेपछि पहिलोपटक पार्टीको कार्यक्रममा सार्वजनिक रुपमा देखिएकी छन्।
एमालेले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिएपछि उनी पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएकी हुन्। मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ को उद्घाटनका लागि भण्डारी बुटवल आएकी हुन्।

यसै अवसरमा एमाले रुपन्देही जिल्ला कमिटीले भण्डारीको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी सहभागी भएकी थिइन्।

भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गरेका थिए। कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेशस्तरका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताको सहभागिता थियो।
भण्डारीलाई स्वागत गर्दै एमालेका नेताहरुले पार्टीको वरिष्ठ नेताका रूपमा उनको नयाँ भूमिकाको स्वागत गरेका थिए।

