


काठमाडौं,१३ असोज। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा दुई वटा विधेयक पेश भएका छन्।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पेश गरेकी हुन्।

विधेयक पेश गर्दै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानमार्फत दक्ष, सक्षम र जिम्मेवार स्वदेशी तथा विदेशी जनशक्ति उत्पादन गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन्। भू–राजनीतिक संवेदनशीलता र बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न देशमै सैनिक तथा गैरसैनिक अधिकारीलाई उच्च शिक्षा तथा तालिम प्रदान गर्ने लक्ष्य रहेको उनले जानकारी दिइन्।
त्यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रतिनिधिसभामा पेश गरेका छन्।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ समेत पेश गरेकी छन्।

