


बाँके,१३ असोज । ‘हनी ट्रयाप’मा पारेर ब्ल्याकमेलिङ गर्दै आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौंको सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एंव डीएसपी प्रतित सिंह राठौर अनुसार, पक्राउ परेको श्रेष्ठले २०८१ सालदेखि बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय एक पुरुषलाई ब्ल्याकमेलिङ गर्दै आएकी थिइन्।
पूर्वयोजनाअनुसार ती पुरुषलाई माया-प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर पछि विभिन्न मुद्दामा फसाइदिने धम्की दिँदै उनले पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको भनाइ छ।
आपराधिक लाभ लिएको आरोपमा फरार रहेकी श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेर ल्याइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

