


काठमाडौं,१४ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका विषयमा नेपाल र भारतबीच सकारात्मक छलफल भइरहेको बताएका छन्। यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइनसकेको उनले स्पष्ट पारेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले उपयुक्त समयमा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई परिणाममुखी र अर्थपूर्ण बनाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको जानकारी दिए।

उनका अनुसार सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्री शाहलाई भ्रमणको निमन्त्रणा प्राप्त भएको थियो। नेपालले उक्त निमन्त्रणालाई सकारात्मक रुपमा लिएको र उपयुक्त समयमा भ्रमण हुने उनले बताए।
मन्त्री खनालले सरकार गठन भएदेखि नै नेपालका दुई छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखिएको बताए। दुवै देशको भ्रमणमार्फत नेपालको प्राथमिकता र राष्ट्रिय हितका विषय स्पष्ट रुपमा प्रस्तुत गरिएको उनको भनाइ थियो।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र परराष्ट्रमन्त्रीसँग भएका भेटवार्तालाई नेपालको राष्ट्रिय हित प्रवद्र्धनका लागि उपयोग गरिएको पनि उनले बताए।
महासभाका क्रममा नेपालले भोटेकोशी बाढीपछि उत्पन्न विपद्को अवस्था, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौती तथा विपद् व्यवस्थापनका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेको मन्त्री खनालले जानकारी दिए।

