


काठमाडौं,१४ असोज। नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। आगामी १८ असोजदेखि सुरु हुने महाधिवेशनका लागि पार्टीले प्रतिनिधि शुल्क तय गरेको हो।
यसपटकको महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधिको संख्या पनि बढ्ने भएको छ। कांग्रेसको १४औँ महाधिवेशनमा ४७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए भने १५औँ महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने निर्वाचन समितिले जनाएको छ।

प्रतिनिधिको संख्या बढ्नुमा विधान संशोधन पनि प्रमुख कारण बनेको छ। यसअघि एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना प्रतिनिधि चयन हुने व्यवस्था रहेकामा यसपटक संशोधित विधानअनुसार ३३ जना प्रतिनिधि चयन हुनेछन्।
महाधिवेशनका लागि प्रतिनिधिको होटल बुकिङ पार्टीले गर्ने भए पनि होटलमा बस्दाको शुल्क भने सम्बन्धित प्रतिनिधिले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।

