

सलमान खान
भैरहवा, १७ असोज । नेपालबाट भन्सार छलेर ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको करिब ९ हजार किलो फर्सीको बीउ भैरहवा भन्सार कार्यालयले बरामद गरेको छ।
भारततर्फ जाँदै गरेको भारतीय एचआर ३८ एए २८३४ नम्बर प्लेटको ट्रकलाई बेलहिया (भैरहवा) सीमानाकामा चेकजाँच गर्ने क्रममा आवश्यक कागजात नभएको पाइएपछि बीउ र ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो समय भारतीय सीमावर्ती क्षेत्रमा फर्सीको बीउ अवैध रुपमा पुगेका घटना सार्वजनिक हुन थालेपछि नाकामा निगरानी बढाइएको थियो।
‘सीमापारी भारतीय क्षेत्रमा बीउ बरामदगी घटना हुन थालेपछि नाकामा निगरानी बढाएका थियौं’, प्रमुख भन्सार अधिकृत पौडेलले भने,‘जसअनुसार भारततर्फ जाँदै गरेको ट्रकलाई चेकजाँच गर्दा आवश्यक कागजात नभएको पाइएपछि बीउसहित ट्रक नियन्त्रणमा लिएका हौं ।’
उनका अनुसार, ट्रकलाई रोकेर चेकजाँज गर्दागर्दै चालक ट्रक छाडेर फरार भएका छन् ।
केही दिनअघि भारतको सीमा सुरक्षा बल (एसएसबी) ले रुपन्देहीको नाकाबाट भारतीय ट्रकमा अवैध रुपमा गएको ६ हजार ४० किलो फर्सीको बीउसहित दुई जनालाई भारतीय सीमावर्ती नौतनवा क्षेत्रबाट पक्राउ गरेको थियो ।
यस्तै भारतको खुनुवा भन्सार कार्यालयले कपिलवस्तु नाकाबाट पनि अवैध रुपमा गएको दुई वटा भारतीय ट्रकमा पनि करिब १३ हजार ४ सय किलो फर्सीको बीउ र ओखर बरामद गरेको थियो ।
पछिल्लो समयको बरामदगी घटनाले रुपन्देही र कपिलवस्तुको मुख्यनाका बाटनै फर्सीको बीउको तस्करी बढेको देखिएको छ।
ठाउँठाउँमा चेकप्वाइन्ट थापेर बसेको नेपाल प्रहरी र सीमा सुरक्षाको जिम्मेवारी लिएको सीमानाकामा बसेको सशस्त्र प्रहरीले तस्करी रोक्न नसकेको देखिएको छ। स्थानीयहरुका अनुसार, चाडपर्व नजिकिएसँगै भारतबाट रुपन्देहीको नाका हुँदै तस्करी पनि बढेको छ।



