

भैरहवा,१७ असोज। रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रामनरेश माध्यमिक विद्यालयमा जनतासँग गुनासो सुनुवाइ तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने यो गाउँपालिकासमेत पूर्वाधार विकास मन्त्री सुनिल लम्साल निर्वाचित क्षेत्र हो।
कृषि मन्त्री गीता चौधरीको प्रमुख अतिथ्यतामा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले संयोजन गरको कार्यक्रममा सांसद कन्हैया बनिया, ज्ञानु पौडेल, मन्त्री लम्सालको सचिवालय सदस्य जितेन्द्र यादव, स्थानीय जनप्रतिनिधि, रास्वपा रुपन्देहीका सचिव ज्ञानेन्द्र पाण्डेय लगायतको उपस्थित थियो।

कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या, गुनासा तथा विभिन्न सुझावहरु राखेका थिए। जनताबाट प्राप्त गुनासा तथा समस्याहरुलाई आवश्यक समाधानका लागि समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो।
मन्त्री लम्सालको सचिवालय सदस्य यादवका अनुसार, जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय तहमा देखिएका समस्या र आवश्यकताबारे जानकारी लिने अवसरका रुपमा कार्यक्रमलाई लिइएको थियो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरुले जनताका गुनासा र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्न आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी दिनमा पनि जनताका समस्या र आवश्यकता प्रत्यक्ष रुपमा सुन्ने तथा समाधानका लागि निरन्तर पहल गर्ने मन्त्री लम्सालको सचिवालयले जनाएको छ ।



