

दाङ,१८ असोज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन ।
संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उनले विशेष जोड दिएका हुन् ।
Advertisement

Advertisement
Advertisement
आइतबार राप्ती उपत्यका (देउखुरी)मा भएको आर्थिक वर्ष २०८२र०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उनले जानकारी दिए।
‘स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौं। तर संघीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी छ,’उनले भने, ‘गत वर्ष संघीय सशर्तको बजेट फिर्ता भएको देखियो। संघबाट आएको बजेट खर्च गर्न सकेनौं भने उतै फर्किएर जाने हो ।’
संघबाट प्राप्त हुने बजेट क्रमशः घट्दै गइरहेको अवस्थामा उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने उनले बताए। प्रदेश र स्थानीय तहबीच समन्वय गरेर स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए ।
मुख्यमन्त्री आचार्यले कुपोषण न्यूनीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। स्थानीय तहसँग समन्वय गरी कुपोषण बढी देखिएका तराईका दक्षिणी क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नुपर्ने उनको भनाइ छ। पोषण सुधारका लागि स्वास्थ्य सेवासँगै नागरिकको चेतनास्तर अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने उनले बताए।
प्रदेश मातहतका अस्पतालको व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिँदै उनले अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्नुपर्ने बताए।अस्पताललाई क्रमशः आत्मनिर्भर बनाउने गरी विशेष योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ। निजी तहबाट संचालित अस्पतालहरु नाफा कमाउदै गएपनि सरकारी अस्पतालहरु घाटामा रहने अवस्थाको अन्त्य गर्न चुहावट नियन्त्रणका लागि बिशेष योजना बनाउनुपर्नेमा जोड दिए।
‘समीक्षा गर्दा हाम्रा कमी कमजोरी कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ । कमजोरी समाधान गर्ने योजना बनाउनुपर्छ। भएका उपलब्धिको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न कार्ययोजना आवश्यक छ,’उनले भने ।
स्वास्थ्य क्षेत्रमा निराशाजनक अवस्था नरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपलब्धिलाई संस्थागत गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनुपर्ने बताए।
स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले स्वास्थ्य क्षेत्र प्रदेशका करिब ५२ लाख नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले संवेदनशील भएर काम गर्नुपर्ने बताए। स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको प्राथमिकता निर्धारण गरी समाधानको स्पष्ट योजना बनाउनुपर्ने उनको भनाइ छ।



