

वीरगञ्ज,१८ असोज। जनमत पार्टीको अध्यक्षमा डा.सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। यद्यपि, पार्टीको विधानअनुसार अध्यक्ष पदका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले राउतको पक्षमा मतदान भएको थियो। महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो।
Advertisement

Advertisement
Advertisement
यस्तै उपाध्यक्ष पदमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
त्यस्तै महासचिव पदमा सञ्जयकुमार यादव (सिरहा) ६१८ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत प्राप्त गरे । उनीहरुले २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ ।
उपमहासचिव पदमा ५०१ मतसहित सिरहका निर्मलकुमार मण्डल निर्वाचित हुँदा उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए।
यस्तै सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् । ७ सचिवका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको थियो।



