

भैरहवा, २० असोज । रुपन्देहीको भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव (सिद्धार्थ फुड फेस्टिबल एण्ड म्यूजिकल नाइट)-२०८३’ आयोजना हुने भएको छ । चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा सिद्धार्थ बसपार्कदेखि देवकोटाचोकसम्मको क्षेत्रमा उक्त महोत्सव संचालन गर्न लागिएको हो।
दशैं–तिहार पर्वलाई लक्षित गर्दै आयोजना गर्न लागिएको महोत्सवको माध्यमबाट सिद्धार्थनगरलाई पर्यटकको बसाइ, खानपान, घुमफिर र खर्चका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्ने आयोजकको लक्ष्य छ। महोत्सव साँझ ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने र करिब एक सय वटा स्टल रहने आयोजकले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काका अनुसार महोत्सवले लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनसँगै बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकलाई भैरहवामा रोक्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। पर्यटकको बसाइ अवधि बढाउँदै स्थानीयस्तरमा हुने खर्चसमेत वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
लुम्बिनीलाई केन्द्रमा राखेर सिद्धार्थनगरलाई पर्यटन सेवा, खाना तथा आतिथ्यको प्रवेशद्वारका रुपमा स्थापित गर्ने लक्ष्य पनि महोत्सवको रहेको छ । स्थानीय मौलिक खाना, विभिन्न जातीय परिकार, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनका साथै सडक खानालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय ढंगले प्रस्तुत गर्ने संस्कारको विकास गर्ने आयोजकको भनाइ छ ।
महोत्सवले होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन बजार सिर्जना गर्ने तथा स्थानीय उत्पादक, किसान, खाद्य व्यवसायी, महिला र युवा उद्यमीलाई प्रत्यक्ष बजारसँग जोड्ने अपेक्षा गरिएको छ । साथै सिद्धार्थनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको नियमित ‘फुड एण्ड कल्चर’ कार्यक्रमका लागि आधार तयार गर्ने लक्ष्यसमेत राखिएको छ ।
महोत्सवमा चर्चित गायक दुर्गेश थापा, टिकटक स्टार तथा गायिका प्रिती पासवानलगायत स्थानीय कलाकारको प्रस्तुति रहने कार्यक्रम संयोजक तथा चेम्बर अफ कमर्स, रुपन्देहीका सल्लाहकार विनोद खरेलले जानकारी दिए।
उनका अनुसार, महोत्सवका लागि प्रमुख अतिथिका रुपमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई निमन्त्रणा गरिएको छ। साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेल ‘गनेश’ पनि कार्यक्रममा सहभागी हुने बताइएको छ।
चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले सिद्धार्थनगरको बजारलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर सिद्धार्थनगरलाई पर्यटन सेवा, खाना र आतिथ्यको प्रवेशद्वारका रुपमा विकास गर्न कार्यक्रमले योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रम व्यवस्थापनको जिम्मेवारी नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालिले गर्ने आयोजक संस्थाका महासचिव लक्ष्मी अधिकारीले जानकारी दिइन्।



