

भैरहवा,२१ असोज। रुपन्देहीको भैरहवामा ‘भैरहवा दसैं महोत्सव–२०८३’ आयोजना हुने भएको छ।
लायन्स क्लब अफ भैरहवा लिगेसीको मुख्य आयोजनामा असोज २५ गतेदेखि कात्तिक ६ गतेसम्म भैरहवाको गल्लामण्डी रोडस्थित सुगरमिल क्षेत्रमा महोत्सव सञ्चालन हुने भएको हो।
Advertisement

Advertisement
Advertisement
बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नारायणप्रसाद कोइरालाले दसैं पर्वको अवसरमा स्थानीय व्यापार–व्यवसाय र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारसँगै भारतका चर्चित कलाकारको प्रस्तुति रहने बताइएको छ।
उनका अनुसार, महोत्सवमा दुर्गेश थापा, प्रीति पासवान, गंगु क्षेत्रीलगायत कलाकार र भारतबाट अभिनेत्री अक्षरा सिंह, राजा भोजपुरियालगायतको प्रस्तुति रहनेछ।
भैरहवा नेपाल–भारत सीमा नाका, लुम्बिनीको प्रवेशद्वार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले महोत्सवले स्थानीय अर्थतन्त्र र पर्यटनलाई चलायमान बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
महोत्सवमा भैरहवासहित मर्चवार, लुम्बिनी, बुटवल लगायत र भारतको सोनौली, नौतनवा आसपासका क्षेत्रबाट दर्शक भित्र्याउने लक्ष्य राखिएको छ।
महोत्सव स्थलमा विभिन्न व्यवसाय तथा उत्पादनका ५० वटा स्टलसँगै मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।





