

लुम्बिनी,२२ असोज। लुम्बिनी विकास कोषमा पदाधिकारी नियुक्तिका लागि सरकारले खुला आवेदन आह्वान गरेको पाँच महिना बितिसक्दा पनि नियुक्ति प्रक्रिया टुंगिन सकेको छैन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार उपाध्यक्ष, सदस्यसचिव, कोषाध्यक्ष, योजना प्रमुखसहित १२ पदका लागि ७२७ जनाले आवेदन दिएका छन्। सदस्यसचिव पदमा सबैभन्दा बढी २०९, योजना प्रमुखमा ११२, उपाध्यक्षमा १०४ र कोषाध्यक्षमा ८६ जनाको आवेदन परेको छ। बाँकी आवेदन कार्यकारी सदस्य तथा परिषद् सदस्य पदका लागि परेको हो ।
Advertisement

Advertisement
Advertisement
सरकारले गत वैशाख १९ गते सार्वजनिक पदाधिकारीसम्बन्धी विशेष व्यवस्था लागू गरेपछि तत्कालीन उपाध्यक्ष डा. ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव दीपक श्रेष्ठलगायत कार्यकारिणी र परिषद् सदस्यहरु पदमुक्त भएका थिए। त्यसयता कोष कर्मचारी संयन्त्रमार्फत सञ्चालन हुँदै आएको छ।
पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा कोषका नीतिगत निर्णय, दीर्घकालीन योजना तथा वार्षिक कार्यक्रम र बजेट कार्यान्वयन प्रभावित भएको सरोकारवालाहरुको भनाई छ।
लुम्बिनी विकास कोषको जिम्मेवारी लुम्बिनीको संरक्षण र विकासका साथै तिलौराकोट, कुदान, निग्लिहवा, सगरहवा, गोटिहवा, रामग्राम र देवदहलगायत बुद्धसँग सम्बन्धित पुरातात्विक क्षेत्रहरुको संरक्षण तथा विकाससँग पनि जोडिएको छ।





