

भैरहवा,२२ असोज। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा वडा अधिवेशनपछि पालिका अधिवेशन सुरु गरेको छ।
केही जिल्लामा वडा तहकै संगठन निर्माणमा कठिनाइ भएपछि पालिका अधिवेशन प्रभावित भएको छ भने कतिपय स्थानमा अधिवेशन उत्साहका साथ अघि बढेको छ। लुम्बिनीका कुनै जिल्लाका पालिकामा र्याली, सभा र ठूलो उपस्थितिका साथ अधिवेशन भइरहेका छन् भने कतिपय स्थानमा भने सुनसान देखिएको छ।
Advertisement

Advertisement
Advertisement
देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार, प्युठान र रोल्पामा वडा तथा पालिका अधिवेशन सम्पन्न भइसकेको छ। कपिलवस्तुका १० स्थानीय तहमध्ये चारवटाको अधिवेशन सकिएको छ भने बाँकी पालिकामा पनि क्रमशः अधिवेशन गर्ने तयारी छ। दाङमा पनि पालिका अधिवेशन गर्ने तयारी गरिएको छ।
रुपन्देहीमा पनि पालिका अधिवेशन सुरु भएको छ। बुटवल उपमहानगरपालिकामा प्रभा अर्याल र लुम्बिनी सांस्कृतिक नगरपालिकामा घनश्याम यादवको नेतृत्वमा नगर समिति गठन भएको छ। अन्य पालिकामा पनि अधिवेशन गर्ने तयारी छ।

तर पाल्पा, गुल्मी लगायत केही जिल्लामा वडा तहकै अधिवेशन सम्पन्न गर्न कठिनाइ भइरहेको बताइएको छ। अर्घाखाँचीमा भने वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारीसँगै लुम्बिनीका १२ वटै जिल्लामा वडा, पालिका र जिल्ला तहका अधिवेशनलाई तीव्रता दिएको छ।





