

भैरहवा, २३ असोज। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा योजना लागु गरेको छ । शान्ति, सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिन र सर्वसाधरणलाई शान्तिपूर्ण रुपमा उल्लासपूर्वक चाडपर्व मनाउनका लागि सुरक्षा योजना लागु गरेको जनाएको छ ।
‘सर्वसाधरणले उल्लासपूर्वक चाडपर्व मनाइरहेको अवस्थामा अपराधिक मनोवृति हावी भएका व्यक्तिहरु सल्बलाउन खोज्छन्, रुपन्देहीका एसपी जनक बहादुर शाहीले सुरक्षा योजना सार्वजनिक गर्दै भने, ‘त्यसलाई निस्तेज पार्नका लागि जिल्लामा सुरक्षा योजना लागू गरेका हौँ ।’
Advertisement

Advertisement
Advertisement
उनले चाडपर्वमा जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि पूर्वप्रहरी, निर्वाचन प्रहरी (म्यादी), छिमेकी जिल्लासँग समन्वय भइरहेको र सादा पोसाकमा प्रहरी खटाएर सूचना संकलनको काम पनि भइरहेको बताए ।
चाडपर्वमा चोरी, लुटपाट, ठगी, झैझगडा, तस्करी लगायत अपराधिक क्रियाकलापलाई हुन सक्ने सम्भावना रहन्छ । जसलाई नियन्त्रण गर्नका लागि एसपीको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरी जिल्लाभर एक हजार २ सय १५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।
उनका अनुसार, जिल्लामा मोटरसाइकल गस्ती, पैदल गस्ती, पिकेट, क्विक रेस्पोन्स टिम (क्यूआरटी), ट्राफिकसहितको संयुक्त चेकिङ, सादा पोशाकका प्रहरी परिचालन गरिएको छ। यसका साथै धार्मिक तथा पर्यटकीय स्थल, बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र अन्य संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी बढाइनेछ।
यस्तै सवारी दुर्घटना न्यूनीकरणका लागि मादक तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनेमाथि चेकजाँच कडा पारिने, क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएको भन्दा बढी भाडा असुल्ने सवारी साधनमाथि कारबाही गरिनेछ । यात्रुको सहजताका लागि बसपार्क, राजमार्ग तथा प्रमुख सीमा नाकामा यात्रु सहायता कक्षसमेत सञ्चालन गरिने बताइएको छ।
चाडपर्वको बेला कसैलाई कुनै समस्या परे जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कन्ट्रोल रुमको १०० वा ९८५७०९०६२२ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह समेत गरेको छ ।





