

काठमाडौं,२३ असोज। काठमाडौंको बूढानीलकण्ठमा बरामद भएको करिब २२ किलो सुन तस्करीका लागि एउटा घर नै ३ लाख ३० हजार रुपैयाँमा भाडामा लिएर सुन प्रशोधन गर्ने गरिएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार, माथिल्लो भंगालस्थित घरबाट विभिन्न बिस्कुट आकारमा २१ किलो ७५०.६८ ग्राम सुनसहित चिनियाँ नागरिक हान फेई, झोउ लङछिङ र सु क्यानलाई पक्राउ गरिएको छ। बिहीबारको बजार मूल्यअनुसार बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको छ।
Advertisement

Advertisement
Advertisement
उनीहरुलाई अवैध सुन, नगद, सुन ओसारपसारमा प्रयोग गरिने गाडी तथा सुन प्रशोधनमा प्रयोग हुने सामग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी चीनको ग्वान्झाउमा बसेर जेन्जिया ल नामक योजनाकारले वीच्याट एपमार्फत निर्देशन दिने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिएको छ ।
कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले नेपालमा सुन कहाँ, कसरी, कसलाई पुर्याउने भन्ने सम्पूर्ण निर्देशन उनै योजनाकारले वीच्याटमार्फत दिने गरेको अनुसन्धानका क्रममा पाइएको बताए।
गोप्य सूचनाका आधारमा लामो समयदेखि निगरानी भइरहेको र सोही क्रममा बिहीबार उक्त घरमा छापा मारेर सुन बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





