

काठमाडौं,४ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते हुने दुईदिने भारत भ्रमण स्वीकृत गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा जान लागेका हुन्। उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्। नेपालबाट प्रस्थान गर्ने सरकारी प्रतिनिधिमण्डल ३४ सदस्यीय हुनेछ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।
त्यसैगरी, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली र पत्रकारहरु आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने बताइएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। उक्त वार्तामा दुई देशबीचको व्यापार, पारवहन, लगानी, ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।
यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा मानव संसाधनसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ। भ्रमणबाट दुवै देशका प्राथमिकताका क्षेत्रमा आपसी सहकार्य थप सुदृढ र विस्तार हुने अपेक्षा गरिएको छ।





