

लुम्बिनी,८ मंसिर। लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा)को नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। साथै नियुक्ति खारेजीको माग गर्दै लुम्बिनी बचाउ महाअभियानले लुम्बिनीमा निरन्तर विरोध प्रर्दशन गर्दै आएको छ।
मंगलबार ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले डोल्माको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको भन्दै अदालतमा रिट दायर गरेको हो।
Advertisement

Advertisement
Advertisement
अभियानका तर्फबाट संयोजक सुनिल सिंहसमेतले नियुक्ति खारेज गर्न माग राख्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटको पेसी बुधबारका लागि तोकिएको छ।
अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको वैधानिकतामाथि गम्भीर प्रश्न उठाउँदै संगठनले सरकारको बारम्बार ध्यानाकर्षण गराउनुका साथै पटक-पटक खबरदारी गर्दै आएको थियो । तर, अभियानले उठाएका प्रश्न र सार्वजनिक चासोलाई बेवास्ता गर्दै सरकारले डोल्मालाई दलबलसहित कोषमा उपस्थित गराएर कार्यभार सम्हाल्ने वातावरण बनाएको अभियानको आरोप छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा) लाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
डोल्माको नियुक्ति खारेजीसँगै नागरिकता र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनुपर्ने भन्दै विरोध हुँदै आएको छ।





