
काठमाडौं, २० माघ । छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।
आर्मीले दिएको १८२ रन लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पुलिसका शंकर रानाले अर्धशतक बनाए । उनले अविजित ६२ रन जोडे । आरिफ शेखले २७, अमीत श्रेष्ठले २८, अर्जुन साउदले ३६, कुशल भुर्तेलले १४, दिलिप नाथले ७ रन बनाए ।बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, शाहव आलम र बसिर अहमदले १/१ विकेट लिए ।
Advertisement

Advertisement
Advertisement

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले ६३, सोमपाल कामीले ३९, इम्रान शेखले २८, कुशल मल्ल १७, सन्तोष कार्कि ७, भिम सार्की ५, कप्तान विनोद भण्डारी २, शाहव आलम २, जितेन्द्र मुखिया २, बसिर अहमद १ र सन्दीप रजाइली शुन्य रनमा आउट भएका थिए ।
६९ रनमा ७ विकेट गुमाएको आर्मीलाई सोमपाल र विवेकले उकासेका थिए । आठौं विकेटका लागि सोमपाल र विवेकले ५९ रनको साझेदारी गरेका थिए ।
बलिङमा पुलिसका ललित राजवंशीले र कप्तान दीपेन्द्रसिंह ऐरीले ३/३, सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १/१ विकेट लिएका थिए ।


