


काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओलाई पक्राउ गरेको छ ।
बैंकिङ कसुरको आरोपमा बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र पूर्व सीईओ तुलसीराम गौतमलाई पक्राउ गरिएको ब्युरो प्रमुख तथा एआईजी किरण बज्राचार्यले बताइन् । कमसल धितो राखेर बैंकिङ कसुर गरेको उनीहरुमाथी आरोप छ ।
उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको बज्राचार्यको भनाइ छ ।

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा तत्कालीन सेञ्चुरी बैंकका चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यसअघिका सिइओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएको आरोप छ ।
१३ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकले १० अर्ब चुक्ता पुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकलाई आफूमा गाभेको थियो । १० अर्बको बैंकमध्ये झन्डै २ अर्ब रुपैयाँ समस्याग्रस्त देउराली सहकारीसँग सम्बन्धित रवीन्द्र चौलागाई तथा उनको कम्पनीहरूलाई ऋणमा दिइएको थियो ।

