
भैरहवा, २२ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा तातो हावाको लहर लु प्रतिकार्य योजना सम्बन्धी छलफल भएको छ । गर्मीयाममा तातो हावा (लु) बाट बच्न सकिने विषयमा सरोकारवालासँग छलफल भएको हो । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहकार्य र सहयोगमा (हीट एक्शन प्लान वर्कसप) कार्यशाला गोष्ठी भएको हो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपाने, रेडक्रस क्लाइमेट सेन्टरका अर्वन एक्सपर्ट रमिज खान, अमेरिकन रेडक्रसका कार्यक्रम संयोजक उपमा ओझा, आशामा सुवेदी लगायतले बोल्दै गर्मी लु बाट बच्ने उपायका बारेमा सहजीकरण गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै नगरप्रमुख खानले तातो हावाबाट आफू बच्नुका साथै अरुलाई बचाउनुपर्ने बताए । उनले गर्मीबाट बच्न रुख विरुवाको महत्वपूर्ण भूमिका रहेकाले वृक्षारोपण आवश्यक रहेको बताए ।
तातो हावाको लहर लु प्रतिकार्य कार्यदल सिद्धार्थनगरका सदस्य सचिव यादव प्रसाद सापकोटाको सञ्चालन तथा रेडक्रस रुपन्देही शाखाका मन्त्री रामचन्द्र उपाध्यायको स्वागतमा भएको कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण) रुपन्देही शाखाका अधिकृत एवं परियोजनाका फोकल पर्सन कृष्ण मल्ललगायतले बोलेका थिए ।
कार्यशालामा विभिन्न क्षेत्र र सरोकारवालाहरुसँग समूहगत छलफल भएको थियो । अमेरिकन रेडक्रसका कार्यक्रम संयोजक उपमा ओझाका अनुसार हीट एक्शन प्लान बनाउने पहिलो नगरपालिका बाँकेको नेपालगंज उपमहानगरपालिका हो । उनले भनिन्, ‘योजना बनाउने मात्र हाम्रो उद्देश्य होइन । जनचेतनाको अभिवृद्धि गर्नु पनि हो ।’

