
भैरहवा, २५ चैत । रुपन्देही प्रहरीले ठुलो परिमाणमा मटर र मकै बरामद गरेको छ । प्रहरीले जिल्लाको सिद्धार्थनगर नगरपालिका–४ स्थित सुगरमिल स्थित युपी १५ सिटी ८१९८ भारतीय नम्बर प्लेटको ट्रक चेकजाँच गर्दा भारतबाट अवैध रुपमा नेपालमा भित्राइएको अवस्थामा ठुलो परिमाणमा मटर र मकै बरामद भएको जनाएको छ ।
‘भारतबाट अवैध रुपमा साम्रगी आउँदैछ भन्ने गोप्य सूचनाको आधारमा टोली खटाएका थियौँ’ रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले भने, ‘सोही आधारमा भारतीय नम्बरको ट्रक चेकजाँच गर्दा कुनै कागजपत्र नभएको अवस्थामा उक्त साम्रगी नियन्त्रणमा लिएका हौँ ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार उक्त ट्रकबाट १५ लाख २५ हजार मूल्य बराबरको तीन सय पाँच बोरा (१५२५० के.जी) मटर र ८६ हजार दुइ सय २५ रुपैयाँ बराबरको ४५ बोरा (२४७५ के.जी) मकै बरामद भएको छ । साथै प्रहरीले उक्त ट्रक समेत नियन्त्रणमा लिएको छ ।
युपी १५ सिटी ८१९८ नम्बरको गाडीमा कपिलवस्तु जिल्लाको सुठौली भन्सारबाट ४ लाख ६७ हजार ५ सय मूल्यको चार सय पच्चीस बोरा मकै मल्लिक टे«डिङले आयात गरेको सुठौली भन्सार कार्यालयका निमित्त प्रमुख नासु भिम बहादुर मल्ले बताए ।
‘हामीले कार्यालयमा उक्त ट्रकमा जाँचपास गर्दा चार सय पच्चीस बोरा (२३३७५ के.जी) मकै नै थियो’ उनले दावी गर्दै भने, ‘कार्यालयबाट ट्रक निस्किएपछि हामीलाई थाहा हुने कुरा भएन । त्यसको जिम्मेवार हामी होइनौँ, सम्बन्धित (आयातकर्ता) हो ।’ भन्सारबाट निस्किएको मकैको ट्रकमा मटरको बरामदगीबारे आफुलाई केही थाहा नभएको उनको भनाई छ । उक्त ट्रकमा रहेको साम्रगी जाँच गरिएको स्थानमा सिसिटिभी क्यामेरा जडान नरहेको उनले बताए ।
नेपालमा भन्दा भारतमा मटरको मूल्य सस्तो रहेकोले भारतबाट मटर तस्करी हुने गरेको छ । आयातकर्ताले भन्सार कर्मचारीको मिलोमतोमा ट्रकमा मकैको थोरै परिमाण राखेर अवैध रुपमा ठुलो परिमाणमा मटर भित्राएको आशंका गरिएको छ ।
उक्त साम्रगी सुठौरीमा भन्सारबाट लुम्बिनी क्लियरिङ भन्सार एजेण्ट (अनुमति पत्र नं. ९२२) ले भन्सार पास गराएको थियो । ‘मेरै लाइसेन्स नम्बरबाट मकै पास भएको हो’ एजेण्ट यमराज बुढाथोकीले भने, ‘तर, सबै काम मेरो कर्मचारीहरुले गरेका हुन् । मैले कार्यसम्पन्न गर्नका लागि ओटिपी मात्र दिएको हुँ ।’
एजेण्टका कर्मचारी अनारुल्लाह खानले आफुले भन्सारबाट मकै जाँचपासको काम गराएको र मुस्ताक नामक व्यक्तिले उक्त मकै आयात गरेको बताए । हिन्दीमा भाषमा बोल्ने मुस्ताकसगँ फोन सम्पर्कमा सम्बन्धित विषयमा प्रश्न गरेलग्त्तै उनी फोन सम्पर्कबाट विच्छेद भए ।
‘सुठौली भन्सारबाट उक्त ट्रक जाँचपास भएर निस्किएको विषयमा हामीलाई जानकारी भएन । भारतीय नम्बरको ट्रक जाँच गर्दा कुनै कागजपत्र नपाएपछि उक्त साम्रगी र ट्रक आवश्यक कारवाही/अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएका हौँ’ रुपन्देहीका एसपी राठौरले भने, ‘अब भन्सार कार्यालयले अनुसन्धान गर्नेछ र थप विषय भए खुल्नेछ ।’
प्रहरीले भन्सारमा बुझाएको ट्रक सहितको उक्त साम्रगीका लागि कोही दावी गर्न नआएको र अनुसन्धान भइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।
‘यदि सबै सही हो र इमान्दारीपूर्वक काम भएको हो भने प्रहरीले ट्रक सहितको सामग्री भन्सार कार्यालयमा बुझाएलग्त्तै आयातकर्ता वा सम्बन्धित कोही प्रमाण सहित साम्रगीको दावी गर्न जानुपर्थ्यो’ स्रोतले भन्यो, ‘तर, अहिलेसम्म कोही दावी गर्न नजानुको अर्थ केही कैफियत रहेकोमा बल पुगेको छ ।’

