
भैरहवा, ३० चैत । भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘ए’ अन्तर्गतको खेलमा न्यु होराइजनले मेलवर्न क्रिकेट क्लबलाई १६ रनले हराउँदै विजयी भएको हो ।
टस जितेर ब्याटिङ रोजको न्य होराइजनले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय १४ रनको योगफल बनायो । जसका लागि १ सय ४३ बलमा अमर मिश्राले ६ चौकाको मद्दतले ८९ रनको अर्धशतकीय पारी खेले । यस्तै, निश्चल ज्ञवालीले २९, महेश भरले २४, बाबुराम क्षेत्रीले २२ र प्रदीप शाहनीले १० रन जोड्न सफल भए । बलिङमा मेलवर्नका रमेश कुर्मी, विष्णु कटरिया, सागर गैरे र इकलाख अहमदले २–२ तथा रोशनलाल गुप्ताले १ विकेट लिए ।
Advertisement

Advertisement
Advertisement

जवाफी ब्याटिङ गरेको मेलवर्न ४६ ओभर ५ बलमा १ सय ९८ रन जोड्दा आलआउट भयो र हार व्यहोर्यो । उसका लागि इकलाख अहमदले ६०, समीर अलीले ४१, अजय रसाइलीले २३, सागर गैरेले १२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा न्यु होराइजनका सुमित पराजुलीले ४, अमर मिश्राले ३, प्रिन्स पालले २ तथा विपर्शन केसीले १ विकेट लिए । खेलमा होराइजनका अमर मिश्रा म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ पाए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

