
भैरहवा, ३० बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सवारी चालकहरुलाई लक्षित गरी सीमानाकामा सम्झाई बुझाई अभियान सुरु गरेको छ । सवारी दुर्घटना न्युनिकरण र ट्राफिक नियमबारे जानकारी गराउने उद्देश्यले ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो ।
भारतबाट मालवाहक गाडी लिएर आएका सवारी चालकहरुलाई भैरहवा भन्सार कार्यालयको परिसर भित्र सम्झाई बुझाई गरी अभियानको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बजिरसिंह बिष्टले जानकारी दिए । अभियान एक हप्तासम्म संचालन हुनेछ ।
Advertisement

Advertisement
Advertisement

अभियानका क्रममा भारतीय सवारी चालकहरुलाई लेन अनुशासन, ओभरट्याक गर्ने तरिका, बाटो क्रस गर्ने तरिका लगायत ट्राफिक नियमबारे जानकारी गराउने गरिएको छ । ‘भारतबाट मालवाहक गाडी लिएर आएका धेरै सवारी चालकहरुलाई यहाँको ट्राफिक नियमबारे जानकारी हुदैन, केहीलाई जानकारी भएपनि नियमको उल्लंघन गरेको पाइन्छ’ प्रहरी निरीक्षक विष्टले भने, ‘अभियानले सवारी दुर्घटना न्युनिकरण र नियम उल्लंघन नहुनेमा विश्वास लिएका छौँ ।’
दुई दिनमा भारतीय नम्बर प्लेटका करिब दुई सय सानाठुला सवारीका चालक–सहचालकलाई ट्राफिक नियमबारे सम्झाईबुझाई गरिएको छ । एक हप्तामा एक हजार बढी चालक–सहचालक यो अभियानमा जोडिने ट्राफिकको अपेक्षा छ ।

ट्राफिकले भारतीय सवारी लक्षित अभियान थालेकाले धेरै सवारी चालक पनि खुशी छन् । नेपालको नियम, कानून बुझ्न र सिक्न पाउँदा आगामी दिनमा गन्तव्यमा पुग्ने क्रममा सहजता हुने भारतीय सवारी चालकको भनाई छ । ‘कहिलेकाँकी नियम नबुझ्दा पनि भारतीय सवारीहरुले नेपालमा आएका दुःख पाउने गरेका छन्, यसैले विशुद्ध भारतीय सवारी लक्षित अभियान थालिएको हो’, विष्टले भने ।
पछिल्लो समय ट्राफिकले दुर्घटना न्युनीकरण र लेनअनुशासन तथा सचेतना अभिबृद्धिका कार्यक्रम निरन्तर गर्दै आइरहेको छ । राडर गनमार्फत सवारीको गति मापन, क्याम्पस, विद्यालय, सामाजिक संघसंस्था, चालक, सहचालकलाई सचेतना र ट्राफिक नियमबारे अभिमुखीकरण लगायतका कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

