


बुटवल, २६ जेठ । रुपन्देहीको बुटवलमा विद्युतिय गाडी चार्ज गर्नका लागि चार्जिङ स्टेशन संचालनमा आएको छ । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले बुटवल स्थित कार्यालय परिसरमा स्टेशन संचालनमा ल्याएको हो ।
करिब एक करोड लगानीमा संचालनमा ल्याइएको स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस–२ डबल गनको एउटा मेसिन तथा ६० किलोवाटकै जीबीटी डबल गनसहितका दुई वटा मेसिन जडान भएको छ । जसकारण एकैपटकमा ६ वटा गाडी चार्ज गर्न सकिने छ भने चार्जमा लगाइएका गाडी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने सहकारीले जनाएको छ ।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार यमबहादुर कुँवरले स्टेशनको उद्घाटन गर्दै पछिल्लो समय पर्यावरणीय संरक्षणको हिसावले पनि विद्युतीय सवारीको चाप बढेकाले तिनको सहजताका लागि स्थापना गरिएको चार्जिङ स्टेशनले सकारात्मक सन्देश दिएको जनाए ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले स्टेशनमा दैनिक अस्सी बढी सवारीका साधानलाई सेवा उपलब्ध गराउन सकिने बताए । नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा संचालनमा ल्याइएको स्टेशनमा मानवरहित सेवा उपलब्ध गराइने र सेवाग्राहीले अनलाइनबाट समेत भुक्तानी गर्न सक्ने व्यवस्था सहकारीका सचिव नरबहादुर रजालीले जानकारी दिए ।
२०४८ सदस्य आवद्ध रहेको सहकारीको १० करोड ६२ लाख ३ हजार ५ सय रुपैयाँ सेयर पूँजी संकलन तथा ४० करोड ७४ लाख २६ हजार ८७६ रुपैयाँ निक्षेप पूँजी संकलन भएको छ ।

