


भैरहवा, ३ असार । ईस्लाम धर्माबलम्वीहरूले आज बकर ईद (ईद-उल-अजहा) पर्वमा धुमधामका साथ मनाउँदैछन् । एकाबिहानै उठी नुहाएर शुद्ध भई नजिकैको मस्जिद वा ईदगाहमा सामुहिक नमाज पढेर एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई कुर्बानी (बलिदान) गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

धार्मिक मान्यताअनुसार अल्लाहले परिक्षण्का लागि नवी (दूत) इब्राहिम अलि सलामलाई आफ्नो सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानीको स्थानमा मानिसको नभई त्यही जन्नतको अन्य पशुको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीहरुको भनाइ छ ।
कुर्बानीको मासु तीन भागमा लगाउने गरिन्छ । जसमध्ये एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफ्नो परिवारका लागि राख्नुपर्ने हुन्छ । आज देखि सुरु भएको यो पर्व बुधवारसम्म (तीन दिन) मनाइनेछ ।

