
काठमाण्डौँ, १३ असार । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बिहिवार बिहान बसेको बोर्डको बैठकले निर्णय गरेपछि एसईईको नतिजा सार्वजनिक गरिएको हो ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण र ५२.१४ प्रतिशत विद्यार्थीले एनजी अर्थात हाल अनुर्तिण भएका छन् । नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै उत्तीर्ण भएका हुन्। जसमध्ये १८६ जना विद्यार्थीले ४.० जिपीए ल्याएका छन्। गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए।
Advertisement

Advertisement
Advertisement

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गएको छ। आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ। परीक्षाफल www.see.gov.np , www.neb.gov.np , www.see.ntc.net.np लगायतका वेवसाइटमा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE <space> SYMBOL NUMBER (उदाहरणका लागि, SEE 1234567A ) टाइप गरेर १६०० मा पठाउन सकिन्छ।
नतिजा प्रकाशन भएको १ महिनापछि २ विषयसम्म एनजी आउनेले मौका परीक्षामा सहभागी हुन पाउने (पुरक) व्यवस्था रहेको छ। यसले गर्दा कक्षा ११ मा भर्ना भइ अध्ययन कार्य अगाडि बढाउन अर्को वर्ष कुर्न नपर्ने कार्यालयको भनाई छ। दुईभन्दा बढि विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ ।
प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको छ । पुनर्योगका लागि परीक्षार्थीहरुलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । जस अनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयहरुको लागि यस कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

