
भैरहवा, १९ असार । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । काँग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमती गरेसँगै एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रचण्डले काँग्रेससँग गठबन्धन तोडेर एमालेको समर्थनमा नयाँ सरकार गठन गरेका थिए । जसमा एमालेले आठ वटा मन्त्रालय पाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि एमालेबाट प्रचण्ड सरकारमा सहभागी भएका आठ जना मन्त्रीहरुले बुधवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष राजीनामा दिएका छन् ।
प्रचण्ड सरकारबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।
Advertisement

Advertisement
Advertisement

एमाले सचिवालयको बैठकले २४ घण्टामा राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेपनि उनले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । बुधवार एमाले अध्यक्ष ओलीले राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै बुधवारकै मितिदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहाललाई पत्राचार गरेका छन् ।


