


काठमाण्डौँ, २७ असार । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माका अनुसार बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राकृतिक विपद्का कारण राष्ट्रिय परिचयपत्र बनाउन समस्या परेकोले तत्कालका लागि परिचय पत्र लागू नगर्ने निर्णय गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
यस अघि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा प्राप्तीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । जस अनुसार सबैभन्दा बढी सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि राष्ट्रिय परिचयपत्र बनाउन अपांगता भएका व्यक्ति, वृद्धवृद्धाहरुले निकै सास्ती खेप्नु परेको थियो ।


