

अर्घाखाँची,६ कात्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरुको योगदान आवश्यक रहेको बताएका छन्।
आफूले अध्ययन गरेको अर्घाखाँचीको मालारानी गाउँपालिका-६, रतनमारेस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।
Advertisement

Advertisement
Advertisement
विद्यालयबाट शिक्षा हासिल गरेर विभिन्न क्षेत्रमा पुगेका पूर्वविद्यार्थीहरुले आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतलाई विद्यालयको विकाससँग जोड्न सके शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ थियो।
लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पूर्वविद्यार्थीहरुको योगदान बढाउने गरी मेरो विद्यालय मेरो दायित्व कार्यक्रम सञ्चालन गरिरहेको छ ।
विद्यालयको शैक्षिक उपलब्धि सुधार गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति र पूर्वविद्यार्थीबीच सहकार्य आवश्यक रहेको प्रदेश सरकारको जोड छ।
कार्यक्रमका क्रममा मुख्यमन्त्री आचार्यले आफूले अध्ययन गरेको विद्यालयको भौतिक पूर्वाधारको अवस्थाबारे अवलोकनसमेत गरेका थिए। विद्यालयको भौतिक संरचना विकाससँगै शिक्षण सिकाइको वातावरण सुधार गर्न पनि पूर्वविद्यार्थीहरुको सहयोग आवश्यक रहेकोमा जोड दिइएको थियो ।
सिद्धार्थ माध्यमिक विद्यालयले आयोजना गरेको पुनर्मिलन कार्यक्रमले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा पूर्वविद्यार्थीहरुलाई जोड्ने र संस्थागत सहकार्यलाई बलियो बनाउने अपेक्षा गरिएको छ।





