


भैरहवा, २८ असार । भैरहवा (गौतमबुद्ध) विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा भाँसिएको बुद्ध एयरको विमान निकालिएको छ ।
विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार प्राविधिक टोलीको सहायताले साँझ करिब ६ बजे विमान घाँसेमैदानबाट निकालिएको हो । विमानलाई सुरक्षित निकाल्नका लागि काठमाडौंबाट बिहिवार राति बुद्ध एयरको प्राविधिक टोली भैरहवा पुगेको थियो ।

गए राति बिहिवार साढे ९ बजे काठमाडौंबाट आएको बुद्धको नाइनएन-एओसी ८०५ कल साईनको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा विमानको चक्का भाँसिन पुगेको थियो । चालक दलसहित सवार ५९ जना सबैलाई विमानबाट सकुशल निकालिएको थियो ।
बुद्ध एयरका अनुसार अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’ का कारण जहाज चिप्लिन पुगेको हो । विमानको अवस्थाबारे अध्ययन भईरहेको कम्पनीले जनाएको छ ।

