
भैरहवा, ३१ असार । भैरहवा भन्सार कार्यालयले सिद्धार्थनगर–९ (भैरहवा) कठौतिया स्थित एक घरको सटरभित्रको गोदाममा लुकाएर राखिएको अवस्थामा सूर्ती र चुरोट बरामद गरेको छ । भारतबाट भन्सार छलेर भित्राइएको सूचनाको आधारमा गोदाममा छापा मारेर आठ लाख ६० हजार रुपैयाँ बराबरको सूर्ती र चुरोट बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । पछिल्लो समय भैरहवा भन्सार राजस्व छलीप्रति आक्रमक रुपमा उत्रिएको छ । कार्यालयले भन्सार छलेर भित्राउने साम्रगीहरु ठुलो परिमाणमा प्रायजसो बरामद गरिरहेको छ ।
‘भन्सार राजस्व चुहावट विरुद्ध हामीले अभियान चलाएको छौँ’, भन्सार प्रमुख गौतमले भने, ‘जसअनुसार हामीले विभिन्न स्थानमा साम्रगीहरु बरामद र संग्लन व्यक्तिहरुलाई पक्राउ गरेर कारवाही गरिरहेका छौँ ।’
Advertisement

Advertisement
Advertisement

भन्सार प्रमुख गौतमको नेतृत्वमा खटिएको टोली गोदाममा छापा मारेर सूर्ती र चुरोट बरामद गरेको हो । कार्यालयका अनुसार गोदामबाट दुई क्विन्टल ८० किलो धुलो सूर्ती, एक सय एक प्याकेट क्लासिक ब्राण्डको चुरोट, एक हजार ८५ प्याकेट कुल लिप समेत तयारी सूर्ती बरामद गरिएको छ ।
‘घरको कोठामा गोदाम बनाएर भन्सार छलेर भित्राइएको सूर्ती र चुरोट डम्प गरिएको सूचना पाएका थियौँ’ उनले भने, ‘गएर हेर्दा ती सामग्रीहरु बरामद भयो । भन्सार प्रज्ञापन पत्र पाइएन । सामग्री धनी फरार भएको र घरधनीको सम्पर्क पनि नआएकोले साम्रगी नियन्त्रणमा लिएर आवश्यक विवरणका साथ साम्रगी धनीको खोजी गरिरहेका छौँ ।’

