
भैरहवा, ३ साउन । रुपन्देही जिल्लामा ‘मेरो सवारी, मेरो लेन’ अभियान अन्र्तगत ३१ हजार बढी सवारी चालकहरुलाई सचेतना शिक्षा प्रदान गरिएको छ । चालकहरुबाट लेन अनुशासन पालना नहुदाँ सवारी दुर्घटना हुने गरेको छ । सोही विषयलाई मध्यनजर गर्दै सवारी दुर्घटनालाई न्यूनिकरण गर्न, लेन अनुशासन पालनलाई प्रभावकारी बनाउन लगायत उद्देश्यसहित गत असार २६ गतेबाट जिल्लामा साताव्यापी अभियान चलाइएको थियो । जसअन्र्तगत ठूला सवारी साधनका ११ हजार ६१२ र साना सवारी साधनका १९ हजार ५८३ जना गरी कुल ३१ हजार एक सय ९५ जना चालकहरुलाई लेन अनुशासन सम्बन्धी सचेतना शिक्षा प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा जिल्लामा अभियान संचालन गरिएको थियो । ‘यो अवधिमा हामीले साँझ–बिहान दुई–दुई घण्टा जिल्लाका मुख्य सहरी इलाका, राजमार्ग, हुलाकी सडक लगायत स्थानमा सचेतना शिक्षा संचालन गरेका थियौं । चालकलाई लेन अनुशासनबारे धेरै कुरा जानकारी भएको हाम्रो अपेक्षा छ’, उनले भने, ‘आगामी दिनहरुमा लेन उल्लंघनकै कारण हुने दुर्घटनामा कमी आउने विश्वास लिएका छौं ।’ ट्राफिक प्रहरीसँगै भैरहवा क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सामाजिक तथा व्यवसायिक संघसंस्थाले अभियानमा स्वयंसेवकको रुपमा सडकमा खटिएर सहयोग गरेका थिए ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार ट्राफिक सचेतनासम्बन्धी ६ हजार पर्चा बाँडिएको छ भने ५ हजार सवारीमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्किर टाँसिएको छ । यस्तै, लेन अनुशासन पालना गर्ने २ सय सवारी चालकलाई सवारीको चावी राख्ने किरिङ दिइएको छ । ‘अनुशासनमा रहेर सवारी चलाउँदा सुरक्षित भइन्छ र सम्मान पनि पाइन्छ भन्ने हेतुले किरिङ उपहार दिएका हौं’, विष्टले भने । उनले अभियानले लेन अनुशासन पालना गर्नेहरु बढेको जनाए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले अभियान निकै प्रभावकारी भएको पाइएको लेन उल्लंघनका घटना शुन्य नहुँदासम्म अभियानलाई निरन्तरता दिने बताए । ‘धेरैजना अभियानबाट लाभान्वित हुनुभयो’, उनले भने, ‘लेनाबारे थाहा नभएकाले जानकारी पाउनुभयो, थाहा पाएर पनि उल्लंघन गर्नेले उल्लंघन गर्नुहुँदैन भन्ने शिक्षा पाउनुभयो । यसैले पनि कार्यक्रम फलदायी भयो ।’ उनले लेन उल्लंघन गर्ने अवस्था कहालीलाग्दो भएको जनाउँदै सचेत नभए मानवीय क्षतिलाई बढवा दिने जनाए ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले लेन अनुशासन उल्लंघनले धेरै दुर्घटना र मानवीय क्षति हुने गरेको जनाउँदै त्यसलाई रोक्न सचेतनामूलक कार्यक्रमले सहयोग पुग्ने जनाए । ‘हामीले सचेतना अभियान पटकपटक गर्दै आइरहेका छौं तर चालक र सडक प्रयोगकर्ता जबसम्म सचेत हुँदैनन्, अभियानले सार्थकता पाउँदैन’, उनले भने, ‘यसका लागि सबैले साथसहयोग र लेन अनुशासनमा ध्यान दिन जरुरी छ ।’ उनले अभियानका क्रममा लेन अनुशासन पालना नगर्नेलाई सम्झाईबुझाई गरेको तर अब भने सचेतनासँगै कारबाही पनि गरिने जनाए ।
पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले लेन अनुशासन सचेतनासम्बन्धी अभियानले धेरैजना लाभान्वित भएको जनाए । ‘यसबाट सबैभन्दा बढी खुशी हामी व्यवसायी छौं’, उनले भने, ‘चालकले लेन पालना नगर्दा दुर्घटना हुन्छ, क्षति बढीमात्रामा हामी व्यवसायीले भोग्छौं । त्यसैले यो अभियान महत्वपूर्ण रह्यो । यसलाई निरन्तरता गर्नुपर्छ ।’
लुम्बिनी ट्रक यातायात व्यवसायी संघका महासचिव रुमाखर गौतमले ट्राफिक सचेतना अभियान निरन्तर गर्नुपर्ने बताए । ‘एकहप्ताको अभियानले साँच्चिकै नसोचेको सफलता पायो’, उनले भने, ‘यस्ता अभियान हामीले निरन्तर गर्न सक्यौं भने दुर्घटना न्युनिकरणमा सहयोग त पुग्छ नै सबै सडक प्रयोगकर्ता अनुशासित र सचेत हुन्छन् ।’ उनले साँझबिहान आफूहरु पनि सडकमा खट्दा ट्राफिक प्रहरी, चालक, सडक प्रयोगकर्ताका समस्या सबै प्रत्यक्ष बुझ्न र भोग्न पाएको जनाए । उनले संघका तर्फबाट आगामी दिनमा हुने यस्ता किसिमका सचेतनामूलक कार्यक्रममा सहकार्यलाई निरन्तर गर्ने बताए ।

