


काठमाडौँ, ४ साउन । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कोकिन तस्करीमा संग्लन आरोपमा कोकिनसहित दुईजना विदेशी नागरिकहरुलाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा भारतका फहिमुद्दिन नसिमुद्दिन अन्सारी (२३) र नाइजेरियाका इकेचुक्वा सिरिल ओबडोफुला (४४) रहेका छन् । साथै, एक किलो एक सय ग्राम कोकिन समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ओबडोफुला भिजिट भिसामा गत साउन १ गते ज्याकेट भित्र क्याप्सुलको रुपमा कोकिन लुकाएर कतारबाट त्रिभुवन विमानस्थल हुदै काठमाण्डौँको पिंगलास्थानको होटलमा पुगेका थिए । ‘सूचनाका आधारमा ओबडोफुलालाई पछ्याउँदै होटलमा पुग्दा उक्त कोकिन पक्राउ परेका अन्सारीले लगिसकेका थिए’ ब्यूरोका प्रहरी नायब उपरिक्षक प्रेमबहादुर शाहीले भने, ‘फेरी ओबडोफुलाले दिएको सूचनाका आधारमा ठमेल स्थित एक होटलबाट कोकिनलाई जुसको बोतलमा हालेर लुकाएको अवस्थामा अन्सारीलाई पक्राउ गर्न सफल भयौँ ।’

अवैध बजारमूल्य ३ करोड ८५ लाख बराबरको उक्त कोकिन जुसको बोतलमा हालेर भारतमा पुर्याउने उद्देश्यले नेपालमा भित्राइएको प्रहरीको आंशका छ । जुसका २ वटा बट्टाभित्र लागुऔषध कोकिनका ६२ वटा क्याप्सुल लुकाएर राखिएको थियो । प्रहरीको प्रराम्भिक अनुसन्धानमा पक्राउ परेका अन्सारी यसअघि नेपाल आइसकेको र ओबडोफुला पहिलो पटक नेपाल आएको पाइएको छ ।
‘पक्राउ परेका दुवै जनासगँ सोधपुछ गरिरहेका छौँ’, उनले भने, ‘लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय गिरोहसम्म पुग्ने प्रयास भइरहेको छ ।’ पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ओसारपसार मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । ब्यूरो यस अघि गत असार १९ गते पनि एक किलो २४७ ग्राम कोकिन सहित दुई जना तान्जानियन नागरिकहरुलाई पक्राउ गरेको थियो ।

