
काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा उनले दुई तिहाई सांसदको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये ओलीले पक्षमा १८८ प्रतिनिधिसभा सदस्यको मत प्राप्त गरे । ७४ जनाले उनको विपक्षमा मतदान गरे भने नेपाल मजदुर किसान पार्टीका एक जना सांसद तटस्थ रहे । प्रतिनिधिभामा २६३ जना उपस्थित थिए ।
प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पक्षमा मतदान गरे भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मतदान गरेका छन् ।
Advertisement

Advertisement
Advertisement

पक्षमा बहुमत मत प्राप्त भएकाले उनले विश्वासको मत प्राप्त गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रधानमन्त्री ओलीले संविधानको धारा १०० (४) अनुसार संसद् बैठकबाट विश्वासको मत लिएका हुन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका हुन् । ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

