
भैरहवा, ७ साउन । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । अल्पमतमा परेको लुम्बिनीका मुख्यमन्त्रीले जोखबहादुर महराले राजीनामा दिएपछि काँग्रेस-एमालेको समीकरण अनुसार नयाँ सरकार गठन हुने भएको हो ।
महराले आइतबार राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सोमबार साँझ साढे ६ भित्र नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए । सरकार गठनको आह्वान सँगै काँग्रेस-एमाले समीकरणबाट सहमती अनुसार एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । जसका लागि सोमबार बिहानसम्म एमाले संसदीय दलका नेता लिला गिरीले बहुमत प्रदेशसभा सदस्यको दस्तखतसहित दिउँसो प्रदेशप्रमुख समक्ष मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी थियो ।
Advertisement

Advertisement
Advertisement

तर, एमालेको गुटगत राजनीतिका कारण अन्तिम समयमा गिरीलाई चिप्लाएर संसदीय दलका उपनेता चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दावी पेश गर्ने भएका छन् । पार्टीमा गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल र आचार्य एमाले महासचिव शंकर पोखरले गुटका मानिन्छन् । एमाले प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन लागिएको बताए । ‘लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यलाई बनाउने निर्णय भएको छ’, उनले भने, ‘सोही अनुसार दिउँसो करिब १-२ बजेतिर मुख्यमन्त्रीमा दावी पेश गर्न जादैछौँ ।’
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनको लागि ४४ मत आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९ र कांग्रेसको २७ प्रदेशसभा सदस्य छन् । जसकारण लुम्बिनीमा सहजै काँग्रेस-एमाले गठबन्धनको सरकार बन्ने देखिएको छ । सत्तामा जानका लागि साना दलले मरिहत्ते गरिरहेकोले काँग्रेस-एमाले गठबन्धनले साना दलहरुलाई पनि साथमा लिएर अघि बढ्ने देखिएको छ ।

