
भैरहवा, ७ साउन । लुम्बिनीमा ‘बुद्धिष्ट वल्र्ड टुरिजम मार्केट’ को आयोजना हुने भएको छ । लुम्बिनीका साथै आसपासका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्य सहित आगामी फागुन २९ र चैत १ गते लुम्बिनीमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
‘लुम्बिनी मात्र नभई क्षेत्रमा रहेको सबै स्थान गौतमबुद्धसँग जोडिएको छ’, लुम्बिनीका लागि सद्भावना दूत एवम पर्यटन व्यवसायी बिक्रम पाँडे काजीले सोमबार भैरहवामा आयोजित कार्यक्रममा भने, ‘गौतम बुद्ध अभिनिष्क्रमण पछि भैरहवा, रोहिणी नदि पार गर्दै अनोमा नदी हुदै गएकोले यस क्षेत्रमा पर्यटकीय सम्भावना उच्च रहेकोले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।’ कपिलवस्तुमा महाअभिनिष्क्रमण दिवस मनाउने गरिएको बताउदै उनले यसलाई जोडेर भैरहवा हुदै त्रिवेणी सम्म पुर्याउन सकिने उनको भनाई छ ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रममा पर्यटन व्यवसायी किशोर जोशीले लुम्बिनी नजिक भएर पनि उपेक्षित रहेको भैरहवालाई बुद्ध संग जोड्न सकिने बताए । उनले रोहिणी नदिलाई प्रवद्र्धन गरि यसैको माध्यमबाट यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउन सकिने बताए । यस्तै सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले पर्यटन र यस क्षेत्रको आर्थिक क्षेत्र चलायमान बनाउन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न अपरिहार्य रहेको बताउदै यसमा सबै लाग्न आग्रह गरे ।
नयाँ नयाँ पर्यटकीय स्थल तथा पर्यटकिय गतिविधिहरु गर्न रुचाउने विक्रम पाँडे काजीले लुम्बिनी र तिलौराकोटको विचमा मायादेवी माईत हिडेको बाटोलाई मायादेवी सुत्केरी मार्ग नामाकरण गरि यसको प्रवद्र्धनमा पनि लागेका छन् । करिब ३९ किलोमिटर लामो यस मार्गमा यसै वर्ष देखि ‘मायादेवी सुत्केरी मार्ग म्याराथन’ को आयोजना गरिने उनको भनाई छ ।

