


काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा कुनै दलसगँ गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारीको बैठकले गठबन्धनमा रहँदा पार्टीको विचार र दृष्टिकोणमा असर पुगेको भन्दै ०८४ सालको निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् । सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको प्रचण्डले बताएका छन् । ‘कुनै दलसगँ गठबन्धन गरेर निर्वाचनमा होमिदा गठबन्धन गरिएको दलहरुको विषयलाई प्राथमिकतामा राख्नुपर्ने हुदाँ हाम्रो कुराहरु सोझै जनतामाझ पुग्न सकेको छैन् । जसले पार्टीको विचार दृष्टिकोणमा ठुलो असर पुगेको छ’,प्रवक्ता सापकोटाले भने, ‘त्यसैले आगामी निर्वाचनमा पार्टीले एक्लै लड्नु पर्छ भन्ने निचोड निकालेका हौँ ।’

माओवादीले चुनाव एक्लै लड्ने उद्घोषण गरे पनि चार दल आबद्ध समाजवादी मोर्चालाई सशक्त बनाएर लैजाने निष्कर्ष पनि निकालेको छ। जनताले पनि कम्युनिष्टहरुको पुनर्गठन चाहेको भन्दै माओवादी सामाजवादी मोर्चामार्फत त्यो अभियानलाई सशक्त बनाउने निष्कर्ष निकालेको हो। त्यस्तै माओवादीले प्रतिपक्षको भूमिका सशक्तरूपमा निर्वाह गर्ने निर्णय गरेको छ। संख्यात्मक हिसाबले कम भएपनि सदनलाई प्रभावकारी रूपमा अगाडि बढाउने र जनताका समस्या र भ्रष्टाचारविरोधी अभियानका लागि सरकारलाई दबाब दिने निर्णय भएको प्रवक्ता सापकोटाले बताए ।

