
भैरहवा, १६ साउन । साढे ६ वर्षको अवधिमा ६ मुख्यमन्त्री र ५० जना मन्त्री बनाएर बदनामी कमाएको लुम्बिनी प्रदेशमा राजनीतिक दलहरुबीच मन्त्रालयको भागभण्डा नमिल्दा सपथ खाएका मन्त्रीहरु ‘हल्लिएर’ बसेका छन् । विना विभागीय मन्त्रीहरुको कार्यविभाजनमा ढिलाई हुदाँ मन्त्रालयको कामकाजमा समेत असर परेको छ । त्यसो त विना विभागीय मन्त्रीको सपथ खाएका केही मन्त्री आर्कषक मन्त्रालय र आंकक्षीहरुले मन्त्रीका लागि काठमाण्डौँ धाउने काम भने गरिरहेका छन् ।
‘जसकारण मुख्यमन्त्रीलाई समेत समस्या परेकोले मन्त्रीहरुको कार्यविभाजनमा ढिलाइ हुन गएको हो’, उच्च तहका एक नेताले भने, ‘एकातिर काँग्रेस, एमाले दुवैले आर्कषक मन्त्रालय खोजेका छन् भने अर्को तिर साना दललाई समेत मिलाएर लैजादाँ मन्त्रालयको भागबण्डा मिलाउन सकस परेको हो ।’ एमाले र काँग्रेस दुवैको अर्थ र सहरी विकास मन्त्रालयमा दावी छ । जुन मिलाउनका लागि काठमाण्डौँमा समेत छलफल भइरहेको बुझिएको छ ।
Advertisement

Advertisement
Advertisement

एमालेमा नेता लिला गिरीलाई चिप्लाएर चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउँदा र काँग्रेसमा मन्त्री छनौट गर्दा केन्द्रले हस्तक्षेप गरेको विषयमा दुवै दलमा किचलो छ । काँग्रेस प्रदेश सभापति अमर पुनले केन्द्रले सिधै हस्तक्षेप गरेर प्रदेशका मन्त्री नियुक्त गरेको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेखेरै असन्तुष्टि जनाएका छन् । उता सरकारमा सहभागी हुने लगभग तय रहेको लोसपामा पनि मन्त्री चयनमा विवाद हुदाँ सपथ खाएका मन्त्रीहरुको कार्यविभाजन र मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् ।
मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि काँग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका एमालेका चेतनारायण आचार्यले आफुले सपथग्रहण गरेकै दिन आठ जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । काँग्रेस र एमालेबाट चार/चार जना विना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका थिए । गत साउन ९ गते विना विभागीय मन्त्रीको सपथ खाएका आठ जना मन्त्रीहरुले पदभारग्रहण कहिले गर्ने भन्ने अझै टुंगो छैन ।
नेकपा एमालेबाट मन्त्री बनेकी सीता शर्माले प्रदेश प्रमुख परिवर्तन भएकोले मन्त्रीहरुको कार्यविभाजन र मन्त्रालयको बाडफाँडमा ढिलाइ भएको बताइन् । ‘मन्त्रीहरुको कार्यविभाजन र सबै मन्त्रालयको बाडफाँड मिलेको छ’,उनले भनिन्,‘बाँकी अन्य तीन जना मन्त्रीको सपथ समेतका साथै सबै विषयमा भोलीसम्म टुंगो लाग्छ र मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।’

