
भैरहवा, १८ साउन । लुम्बिनी प्रदेश सरकारमा विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका आठ जना मन्त्रीहरुको कार्यविभाजन गरिएको छ । उनीहरु गत साउन ९ गते मन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएपनि राजनीतिक दलबीच मन्त्रालयको भागभण्डा नमिल्दा मन्त्रीहरुको कार्यविभाजन हुन सकेको थिएन । जसका कारण प्रदेश सरकारको आलोचना भएको थियो । नेपाली काँग्रेसबाट चार र नेकपा एमालेबाट चार जना गरी मन्त्री बनेका आठ जनाका लागि मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीबीच भएको छलफलबाट मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाइएको हो। सोही अनुसार मुख्यमन्त्री आचार्यले शुक्रवार उनीहरुको कार्यविभाजन गरेका हुन् ।
सहमतिअनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानीमन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मी, उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेले जिम्मेवारी पाएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीले जानकारी दिए। नेपाली कांग्रेसको भागमा परेको एक मन्त्री पठाउन बाँकी छ।
Advertisement

Advertisement
Advertisement

सरकारको नेतृत्व गरेको नेकपा (एमाले) बाट भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्थामन्त्री गुल्मीका दिनेश पन्थी, स्वास्थ्यमन्त्री पाल्पाका खेम सारु र ऊर्जा जलस्रोत र सिँचाइमन्त्रीको जिम्मेवारी दाङकी सीता शर्मा चौधरीले दिइएको प्रवक्ता पन्थीले बताए । लुम्बिनी प्रदेशमा १२ मन्त्रालय रहेकामा एमालेले मुख्मन्त्रीसहित पाँच, कांग्रेसले पाँच र दुई साना दललाई मन्त्रालय बाँडफाँटको सहमति यसअघि गरिएको थियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले राखेका छन्।

