


काठमाडौं, १९ साउन । नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको प्रतिस्पर्धामा नेपालले ३-२ को सेटमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । नेपालले पहिलो पटक भारतलाई पराजित गर्न सफल भएको हो । नेपाल र भारत बीचको अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। नेपालले पाँचौं सेटमा १५–१३ बनाएर जित आफ्नो पक्षमा पारेको हो।पहिलो सेट नेपालले २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो।

दोस्रो सेट नेपालले १२–२५ ले सेट गुमायो। तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिँदै २५–१७ ले सहजै जित निकाल्यो। प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो। पाँचौं सेटमा १५–१३ को जित निकाल्यो। यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ। तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ।

